भारत र चीनतर्फका सबै सीमा नाका बन्द
चैत्र, काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को संक्रमण भित्रिन नदिन सरकारले सोमबारदेखि एक हप्ताका लागि भारत र चीनतर्फका सबै सीमा नाका बन्द गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले चैत १० गते बिहान १० बजेबाट एक साता अर्थात् १६ गतेसम्म सबै अन्तराष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । तर सामान आयात निर्यात भने रोकिने छैन ।
भारतमा कोरोनाको संक्रमण दर बढेपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव गरेको भए पनि भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन भने जनस्तरबाट नाका बन्द गर्नका लागि सरकारमाथि दवाव परेको थियो ।
यो निर्णय कार्यान्वयनसँगै नेपाल ‘लकडाउन’ हुनेछ । आइतबार मध्यरातबाट नै नेपाल भित्रिने अन्तराष्ट्रिय उडानहरुमा रोक लगाइसकेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म अन्तराष्ट्रिय उडान रोक्ने घोषणा गरेका थिए । देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन पनि चैत १० गते सोमबारबाट रोकिएको छ ।






