नेपालले आफूलाई एक्लो नठान्‍नु, हामी साथमा छौं – चीन

तामसालिङ खबर
१२ चैत्र २०७६, बुधबार ११:०४

चैत्र, काठमाडौं – कोरोना भाइरसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुन: दोहोर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी हुन् ।

सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो। ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं’, उनले भनेकी छन्, ‘हामी नेपालका साथीहरुलाई सहयोग पुर्‍याउन तत्पर छौं।

चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं ।’ उनले कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने पनि बताएकी छन् । ‘तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौं’, उनले भनेकी छन् ।

कोरोना भाइरसविरुद्ध लड्न नेपालले चीनबाट १९ थरी भन्दा धेरै स्वास्थ्य सामाग्री ल्याउने तयारी गरेको छ। चीनले सहयोग गर्न तयार रहेको बताएपछि स्वास्थ्य मन्त्रालयले जहाज चार्टर्ड गरेर चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामाग्री केही दिनमै ल्याउँदैछ ।

गत डिसेम्बरदेखि वुहानबाट फैलिएको कोरोना भाइरसविरुद्धको कठिन संघर्षमा चीन लगभग विजयी भइसकेको छ । उसले अहिले कोरोना भाइरससँग लडिरहेका इटाली, स्पेन, अमेरिका सहितका देशलाई सहयोग गर्नमा आफूलाई केन्द्रित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*