स्थानीय सरकारले बनाएका क्‍वारेन्टाइन रित्तै 

तामसालिङ खबर
१७ चैत्र २०७६, सोमबार १८:४४

चैत्र, बागलुङ – जिल्लाको अवस्था कस्तो छ ? तयारी के के हुँदैछ ? भैपरी आयो भने हामीलाई सघाउने कोही छ? सर्वसाधारणबाट आउने प्रश्नहरुको सामना गर्न सरोकारवालाहरुले प्रक्रिया पुर्‍याउन धेरै काम गरेका छन् । तर, मन्त्रालय तथा विभागहरुका निर्देशका आधारमा बनेका विभिन्न समिति तथा समूहरुको देखिने काम भने खोज्दै हिँड्नुपर्ने अवस्थामा छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले देश नै लकडाउन गरेपछि बागलुङमा पनि जोखिम न्यूनीकरणका काम भएका छन् । प्रत्येक स्थानीय तहमा क्‍वारेनटाइन निर्माण भएका छन् । तर, स्थानीय सरकारहरुले बनाएको क्‍वारेनटाइनमा कोही पनि बसेको छैनन् ।

‘विदेशबाट आएकाहरुलाई घरमै क्‍वारेनटाइनमा बस्न भनिएको छ, यसका लागि घरघरै पुगेका छौँ’, काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले भने, ‘क्‍वारेनटाइनमा कोही गएको छैन।’ जिल्लाको समग्र बस्तुस्थिति विषयमा जानकारी संकलन गरिरहेको ‘र्‍यापिड रेस्पोन्स’ टिमका संयोजक सुरज गुरौले सार्वजनिक गरेको तथ्यांकमा पनि अहिले सम्म स्थानीय तहले निर्माण गरेको क्‍वारेनटाइनमा कोही पनि छैनन् ।

कोरोना संक्रमित युवतीका कारण गाउँ नै त्रसित
बेल्जियमबाट कतारको बाटो हुँदै काठमाडौं र त्यहाँबाट पनि जहाज, ट्याक्सी र जिपको सहायतामा बागलुङ आएकी एक युवती संक्रमित रहेको पुष्टि भयो। उनी संक्रमण पुष्टि हुनेबेला सम्म पनि गाउँ डुल्दै थिइन्। उनकै छिमेकीले दिएको जानकारी अनुसार होम क्‍वारेनटाइनमा बसेकी भन्ने हल्ला मात्रै हो ।

उनी कहाँ कहाँ गइन् ? क कस्लाई भेटिन भन्ने विषयमा चैतको ४ गतेदेखि शनिबार रातिसम्मको अवस्थाको विषयमा बल्ल सामान्य खोजी सुरु भएको छ । ‘हामी ट्रेसिङ गर्दैछौँ’ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ भन्छन्, ‘लसपस भएकाहरुलाई क्‍वारेन्टाइनमा बस्न भन्छौँ ।’ उनीसँगै एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवालाई त उनी गाउँमै छन् भन्ने मात्रै खोजियो । ढोरपाटन नगरपालिकाले क्‍वारेनटाइन बनाएको छ । उनलाई आवश्यक ठानेको भए कम्तीमा १४ दिन त्यहाँ राख्न सकिने बताउँछन् स्थानीय । कुँडुलेकी युवतीमा संक्रमण देखा परेपछि घर आएको १२ दिनपछि मात्रै उनको नमुना संकलन भयो ।

सरोकारवालाले समयमा चासो नदिने र जिम्मेवारी पूरा नगरेका कारण समस्या बढ्नेमा सर्वसाधारण सशंकित रहेका छन्। ‘विदेशबाट आएकालाई मात्रै १४ दिन क्‍वारेनटाइन राखेर परीक्षण गर्न सकेको भए हामी डराउनुपर्ने थिएन’, बागलुङ नगरपालिका–१४ का लालप्रसाद शर्मा भन्छन्, ‘खै के के बनाइम् भन्छन सुरक्षित केही गर्दैनन्।’ – थाहा खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*