बाघमा समेत कोरोना भाइरस देखियो

तामसालिङ खबर
२४ चैत्र २०७६, सोमबार ०८:५४

चैत्र, वासिङ्टन – कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्क स्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ ।

आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ । चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड –१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भाइरस संक्रमणका कारण बाघको आहार घटेको छ । यद्यपि भेटेरिनरी सेवा अन्तर्गत रहेको बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ ।

विभिन्न जनावरले नयाँ संक्रमणलाई विभिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा बाघ र सिंहजस्ता जनावरमा भाइरस कसरी विकसित हुन्छ भन्ने अझै अज्ञात रहेको भन्दै चिडियाखानाले सबै जनावरलाई नजिकबाट नियाल्ने जनाएको छ । चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*