चीन र फ्रान्सको भन्दा भारतमा कोरोनाको मृत्युदर बढी
चैत्र, काठमाडौँ – भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार हाल सम्म ८ हजार ४ सय ४६ जना संक्रमित भएका छन् । जस मध्ये २९५ जनाको ज्यान गईसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । संक्रमित मध्ये ७१५ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
विश्वभर भएको कोरोनाको तथ्याङ्क अनुसार ७००० संक्रमितलाई आधार मान्ने हो भने भारतमा कोरोना संक्रमितको मृत्युदर चीन, अमेरिका र फ्रान्सको भन्दा बढी छ । जबकी जर्मनी र दक्षिण कोरियाले कोरोना संक्रमण नियन्त्रणमा ठुलो सफलता हात पारेका छन् । यहाँ ७ हजार संक्रमितको तुलना गर्दा भारतको सफलता निकै कम छ ।
जर्मनी, दक्षिण कोरिया, चीन, फ्रान्स र अमेरिकामा ७ हजार मानिस संक्रमित हुँदा भएको मृत्युदर भारतको भन्दा कम छ । तर अहिले इटली, स्पेन, बेलायत, नेदरल्याण्ड र ब्राजिलमा ७ हजार कोरोना संक्रमित पछिको अवस्था भने भारतको भन्दा निकै भयावह छ ।
भारतमा ७ हजार मानिस कोरोना संक्रमित हुँदा २४९ जनाको ज्यान गएको छ । जर्मनीमा ७ हजार संक्रमित हुँदा १३ जनाको मात्रै ज्यान गएको थियो भने दक्षिण कोरियामा ५४ जनाको ज्यान गएको थियो ।
यस्तै अमेरिकामा ७ हजार मानिस संक्रमित हुँदा एक सय जनाको ज्यान गएको थियो भने चीनमा १७० जनाले ज्यान गुमाएका थिए । फ्रान्समा ७ हजार मानिस कोरोना संक्रमित हुँदा १७५ जनाको ज्यान गएको थियो भने इरानमा २३७ जनाले ज्यान गुमाएका थिए । -डिसी नेपालबाट साभार






