नव वर्ष २०७७ शुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै

तामसालिङ खबर
१ बैशाख २०७७, सोमबार ०६:४४

बैशाख १, हेटौडा – आज नेपालीहरुको नया बर्ष, विक्रम संवत् २०७७ वैशाख १ गतेको पहिलो दिन । नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा माधव भट्टराईले बताए। सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घर कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउनेछन् । विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था छैन । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*