मकवानपुरको थाहानगरले आफ्नो नागरिकको खोजी गर्न थाल्यो (फर्म सहित)
बैशाख १, हेटौडा (थाहानगर) – मकवानपुरको उत्तरी क्षेत्रमा अबस्थित थाहा नगरपालिकाले आफ्नो नागरिकको खोजी अभियान थालेको छ । नगरपालिकाले सामाजिक सञ्जाल फेसबुकमा अनलाईन सर्भे फारम प्रकाशन गरी आफ्ना नागरिकको खोजी गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा मुलुकमा भएको लकडाउनका कारण नगर बाहिर अलपत्र परेका तथा गुजारा चलाउन नसक्नेको विवरण अनलाइन मार्फत संकलन थालेको नगर प्रमुख लवशेर विष्टले जाकनारी दिए । अनलाइन फारममा नगर बाहिर बसेका नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण सहित नगरपालिका संग आफ्नो अपेक्षा पेश गर्न सकिने व्यवस्था गरिएको छ ।
‘अपेक्षाको आधारमा अन्त रहेका नागरिकलाई राहत, सुरक्षा वा उद्धार के आवश्यक परेको हो व्यवस्था गर्छौ’ प्रमुख विष्टले भने– ‘अप्ठेरोमा परेका छन्, खान पाएकै छैनन् भने सम्बन्धित स्थानीय तहलाई फोन गरेर चेक मार्फत पैसा पठाइदिन्छु फलानो–फलानोलाई खान देउ भन्छु ।’
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण सचिवालय थाहानगरले देशका बिभिन्न ठाउँमा अस्थायी रुपमा बसोबास गर्दै आएका थाहाबासीको विवरण संकलनसंगै उनीहरुको अवस्था बुझ्न सहज हुने नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले बताए ।
प्राप्त विवरणको आधारमा पहिलो चरणमा विवरण संकलन गर्ने र दोस्रो चरणमा अवस्था विश्लेषण र तेस्रो चरणमा अपेक्षा पूरा गर्नेमा नगरपालिका केन्द्रित हुने नगर प्रमुख विष्टले बताए । ‘लकडाउन लम्बिरहेको अवस्थामा घर नै आउन चाहिरहेका छन् भने त्यस्तो अवस्थामा साह्रै अप्ठेरोमा परेकाहरुलाई प्रदेश र संघीय सरकार सँग समन्वय गरी थाहानगर नै फर्काउने गरी काम गर्ने सम्मको योजना रहेको छ’ उनी भन्छन् – हाम्रा नागरिक भोकमरी र अलपत्र पर्न दिदैनौं बरु ल्याएर क्वारेन्टाइनमा राख्छौं नागरिक प्रति सँधै उत्तरदायी हुन्छौं ।’
थाहानगर फर्काएपछि नगरपालिकाले सञ्चालन गरिरहेको क्यारेन्टाइनमा राख्नुपर्ने भए राख्ने, घरमा छुट्टै बस्न सक्ने व्यवस्था रहेको भए घरमै पठाउने गरी व्यवस्था मिलाइने नगरप्रमुख बिष्टले बताए । उनले अप्ठेरो परेको अवस्थामा निर्धक्क सँग फोन वा सामाजिक सञ्जाल र नगरपालिकाको वेभसाइट मार्फत सार्वजनिक गरिएको फारम भर्न आग्रह गरेका छन् ।
कसरी भर्ने फारम
थाहा नगरपालिकाले फारम भर्नका लागि तयार गर्ने अनलाईन सर्भे फरमको लिंक क्लिक गरेपछि एउटा फारम खुल्छ । फारम खुलेपछि त्यसमा मागिएको जानकारी भर्न पर्दछ । अनिवार्य अर्थात रातो तारा लागेको प्रश्नको जवाफ अनवार्य भर्नु पर्दछ । सबै प्रश्नको उत्तर भरीसकेपछि अन्तमा विवरण पठाउन यहाँ थिच्नुहोस् लेखिएको ठाउँमा क्लिक गरेपछि तपाइले भर्नुभएको विवरण नगरपालिका सम्म पुग्छ । र, तपाईको अपेक्षाको आधारमा फोन सम्पर्क गर्ने व्यवस्था नगरपालिकाले मिलाएको छ । – समाचार थाहा टाइम्सबाट साभार






