भारतमा वैशाख २१ गते सम्म ‘लकडाउन’ लम्बियो

तामसालिङ खबर
२ बैशाख २०७७, मंगलवार १३:४७

बैशाख २, नयाँ दिल्ली – भारत सरकारले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गते सम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि आज मंगलबार समाप्त हुँदैछ । प्रधानमन्त्री मोदीले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भने, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिख सम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।”

यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताए । प्रधानमन्त्री मोदीले गत शनिबार भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कल गरेर अहिलेको लकडाउनको अवस्थालाई के गर्ने भन्ने विषयमा परामर्श गरेका थिए ।

सबैको सुझावलाई ध्यानमा राखेर नै मे ३ सम्म लकडाउन कायम गरिएको छ । यो सबै नागरिकको जीवनको सुरक्षाका लागि गरिएकोले सबैलाई यस अवधिमा घरभित्रै बस्न र बाहिर ननिस्किन पनि उनले आग्रह गरे । सरकारले जारी राखेको यही लकडाउनकै कारण भारतमा अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई कम गर्न सकिएको उनले बताए ।

भारतमा हालसम्म कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९ हजार भन्दा बढी पुगेको छ । हाल सम्म अनुसार यहाँ कोरोना भाइरसबाट ३३९ जनाको ज्यान गइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*