सनसिटीमा बस्ने करिब २ हजार जनाको कोरोना भाइरस परीक्षण शुरु
बैशाख ३, काठमाडौँ – पेप्सीकोला टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट चार साता अघि आएका एकै परिवारका तीन जना मध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा बस्ने ५ सय परिवारका करिब २ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उक्त परिवारका ८१ वर्षीया आमा र ५८ वर्षीया छोरामा संक्रमण पुष्टि भएको हो । यी आमाछोरा र बुहारी चैत ५ गते लण्डनबाट नेपाल फर्केका थिए । वैशाख १ गते र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि पीसीआर विधिद्वारा थप परीक्षण गरी पुष्टि गरिएको हो ।
बुहारीको परीक्षण भइरहेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । अहिले उक्त अपार्मेन्ट सिल गरिएको छ भने सबैको परीक्षण सोमबारदेखि नै सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरुसँग संलग्नहरुको ट्रेसिङ गर्ने काम पनि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
विदेशबाट आएका मानिसलाई र्यापिड टेस्ट गर्ने क्रममा अपार्टमेन्टको १५ औँ तलामा बस्दै आएका आमा, छोरा र बुहारी गरी तीनजनामा प्रारम्भिक चरणमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुलाई पाटन अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ ।






