देबी ज्ञावलीको अध्यक्षतामा ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन
बैशाख ३, हेटौँडा – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरेको छ । मन्त्रिपरिषद बैठकले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई घर-घडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउन चितवनका देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको हो ।
‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ मा जगत देउजा (सिन्धुपाल्चोक), भीमबहादुर कार्की (कास्की), मञ्जली शाक्य (ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) सदस्य रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह-सचिव एवं प्रवक्ता जनकराज जोशीले बताउनु भयो । आयोगमा सात प्रदेश सरकारले तोकेका एक-एक जना सदस्य रहने ब्यवस्था छ ।
प्रदेश सरकारले तोकेको व्यक्ति भने सम्बन्धित प्रदेशका लागि मात्र सदस्य रहने व्यवस्था गठन आदेशमा छ । प्रदेश सरकारहरूले सदस्य तोक्न बाँकी छ । गठन आदेशमा आयोगमा केन्द्र सरकारले तोकेको सह-सचिव सदस्यसचिव रहने व्यवस्था छ । सरकारले आयोगको सदस्य-सचिव तोकिसकेको छैन ।






