उपत्यका नछाड्न काठमाण्डौका मेयरहरुको आग्रह

तामसालिङ खबर
६ बैशाख २०७७, शनिबार १७:४५

बैशाख ६, काठमाण्डौ – उपत्यकाका मेयर र उपमेयरहरुले लकडाउनका बाबजुद काठमाण्डौ छाडेर पैदलै गाउँ फर्किरहेका नागरिकहरुले घर नजान सामूहिक आह्वान गेका छन् ।

उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप-प्रमुखहरु संलग्न नगरपालिका फोरमले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँगको छलफलपछि कसैलाई पनि उपत्यका नछाड्न आह्वान गरेका हुन् ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको र यसको पूर्ण पालनामै सबैको हित हुने उल्लेख गर्दै नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अवस्थामा एक स्थानीय निकायबाट अर्को स्थानीय निकायमा जान प्रतिबन्ध लागेकोले जो जहाँ छ, त्यही सुरक्षित बसिदिन समेत आग्रह गरेका छन् ।

उनले कोही कतै भोकै परेको भए नगरपालिका फोरमको टोल फ्री न ११८० र ११३१ मा जानकारी दिन समेत आग्रह गरेका छन् । उनले काठमाण्डौ उपत्यकामा बस्ने कसैलाई पनि भोकै हुन नदिने प्रष्ट पारेका छन् । फोरमको तर्फबाट शुक्रबार नै मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

‘यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडि सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*