चीनलाई कोरोना फैलाएको आरोप लगाउँदै – ट्रम्प
बैशाख ७, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार नदेखिए उसले त्यसको परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । ट्रम्प र वरिष्ठ सहयोगीहरूले चीन कोरोना भाइरसका बारेमा पारदर्शी नभएको भन्दै उसको तीखो आलोचना गर्दै आइरहेका छन्।
‘यदी त्यो गल्ती थियो, त्यो गल्ती हो । तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ’, ट्रम्पले आफ्नो नियमित ब्रिफिङमा शनिबार भने । सो ब्रिफिङमा उनले अमेरिकाले के कदम चाल्छ भन्ने बारेमा भने केहि बताएनन्।
यसै साता ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको पक्षपाती भएको भन्दै उसलाई दिने अमेरिकी सहयोग रोकेका छन् । विश्वका यी दुई ठूला अर्थतन्त्रबिच कोरोना भाइरसलाई लिएर पटक-पटक सार्वजनिक रुपमै आरोप-प्रत्यारोप हुँदै आएको छ।
दुबै देशबिच गत वर्ष केही समय चलेको व्यापारयुद्धपछि कृषि व्यापारका बारेको भएको पहिलो चरणको सहमतिलाई उल्लेख गर्दै ट्रम्पले ‘उनीहरूले यस्तो गर्दासम्म’ चीन-अमेरिका सम्बन्ध राम्रो भएको बताए।
ट्रम्पले सुरुमा कोरोना भाइरसमा चीनले गरेको नियन्त्रण प्रयासको खुलेर तारिफ गरेका थिए तर पछि उनी र उनका सहयोगीहरूले यसलाई ‘चिनियाँ भाइरस’को उपनाम दिएर विवाद निम्त्याएका थिए।






