कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली हान्न सक्ने
जेठ २, बिरगंज – प्रदेश नम्बर २ को पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली हान्न सक्ने अधिकार दिईएको छ । विहिबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो अधिकार दिएको हो ।
कठोर रुपमा पेश भएका पर्साका प्रशासकहरुको जेठ १ गते बिहीबार सम्पन्न संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालबाट कोरोना संक्रमित भागेमा गोली हान्नेसम्मको अधिकार सुरक्षाकर्मीलाई दिएको हो ।
गत बुधबार मात्र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुई जना कोरोना संक्रमित शौचालय जाने बहानामा भागेका थिए । प्रहरीले उनीहरूलाई पछि पक्राउ गरेको थियो । उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले अध्यक्षता गरेको बैठकमा नारायणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी लगायत सहभागी थिए ।






