बढी तौलका मानिसमा कोरोनाको संक्रमणको जोखिम

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार ०७:५३

जेठ ५, बिबिसी – अहिले सम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो । तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ ।

अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई असर गरेको देखिएको हो ? कैयौँ अध्ययनको विषय बनेको यही प्रश्नको जवाफ विज्ञहरूले खोज्ने प्रयास गरिरहेका छन् ।

अध्ययनले के भन्छ ?
ब्रिटेनमा कोभिड-१९ का करिब १७,००० बिरामीमा गरिएको अध्ययनमा बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी रहेकाहरूमा मोटोपना नभएहरूमा भन्दा ३३ प्रतिशत बढी मृत्युको जोखिम रहेको देखिएको छ । न्याश्नल हेल्थ सर्भिसको अर्को अध्ययनले कोभिड-१९ बाट मोटोपना भएका मानिसको मृत्युको जोखिम अरूभन्दा दोब्बर देखाएको छ ।

अनुसन्धानकर्ताहरूले मोटोपनका कारण मधुमेह र मुटुरोग भएका मानिसहरूलाई समावेश गरे उक्त जोखिम झन बढी हुने बताएका छन् । र, ब्रिटेनको सघन उपचार कक्षमा रहेका गम्भीर बिरामीको अध्ययनले तीमध्ये करिब ३४.५ प्रतिशत बढी वजन भएका र ३१.५ प्रतिशत मोटोपना भएका रहेको देखाएको छ । बीएमआई मानिसको वजन र उचाइको अनुपात हो । यसले व्यक्तिको मोटोपना रहेको वा नरहेको देखाउँछ ।

वर्ल्ड ओबेसिटी फेडेरेसनले विश्वव्यापी मोटोपना दर उच्च रहेकाले कोरोनाभाइरस सङ्क्रमित हुनेमा धेरैको बीएमआई २५ भन्दा माथि हुने जनाएको छ । अमेरिका, इटली र चीनमा हालै गरिएका प्रारम्भिक अध्ययनहरूले पनि त्यसलाई जोखिमको महत्त्वपूर्ण कारण देखाएका छन् ।

पुरानो स्वास्थ्य समस्या, पुरुष र बढी उमेर कोभिड-१९ का कारण गम्भीर बिरामी पर्ने जोखिम बढाउने कारणहरू हुन्।

मोटो मानिसलाई किन बढी जोखिम ?
जति बढी वजन हुन्छ शरीरमा त्यति धेरै बोसो रहन्छ। शरीर चुस्त रहँदैन । त्यसले फोक्सोको क्षमतामा असर गर्छ । अर्थात् रगत र शरीरभरि अक्सिजनको प्रवाह कम हुन्छ । त्यसले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । युनिभर्सिटी अफ ग्लासगोका प्राध्यापक नवीद सत्तार भन्छन्, “धेरै वजन भएकालाई अक्सिजन पनि धेरै चाहिन्छ । त्यसको अर्थ हो शरीरको प्रणालीमा निकै धेरै दबाव हुन्छ ।”

कोरोनाभाइरस सङ्क्रमणका बेला त्यो गम्भीर बन्नसक्छ। युनिभर्सिटी अफ रेडिङका डा. ड्यान सेल्लाया भन्छन्, “अन्तत: मुख्य अङ्गहरूमा अक्सिजन कम हुँदा मोटो शरीरलाई गार्हो हुन्छ ।” बढी तौल भएका र मोटोपनाका मानिसहरूलाई आइसीयुमा रहँदा श्वास फेर्ने र मृगौला चलाउने सहयोग चाहिनु यसैकारण हो ।

वैज्ञानिकहरूले शरीरको कोषमा रहने एसीई-२ भनिने एन्जाइम शरीरमा भाइरस पस्ने मुख्य बाटो भएको पत्ता लगाएका छन् । त्यो मोटोपना भएका मानिसको छालाको सतहको तल र अन्य अङ्गहरूको आसपासमा रहने बोसोको तन्तुमा धेरै मात्रा फेला पर्ने ठानिएको छ।

प्रतिरोधी क्षमतामा कस्तो असर?
भाइरसविरुद्ध लड्ने शरीरको गुणलाई प्रतिरोधात्मक क्षमता भनिन्छ जुन मोटोपना भएका मानिसमा त्यति राम्रो हुँदैन । वैज्ञानिकहरूका भनाइमा त्यसले ‘साइटोकाइन स्ट्रोम’को अवस्था सृजना गर्छ।

डा. सेल्लायाका अनुसार त्यस्ता तन्तु धेरै हुने अश्वेत, अफ्रिकी र जातीय अल्पसङ्ख्यकलाई मधुमेह बढी देखिनुको कारण यही हो । मोटोपनाका कारण कमजोर मुटु, फोक्सो र मृगौला एवम् टाइप-२ प्रकार मधुमेह पनि हुन्छ ।

जोगिन के गर्ने?
कोभिड-१९ जस्ता गम्भीर सङ्क्रमणको विकास नहुँदासम्म त्यो कुरा देखिँदैन। त्यसले शरीरमा अतिरिक्त दबाव दिन्छ । आइसीयू कक्षमा मोटोपना भएका मानिसको व्यवस्थापन पनि चुनौतीपूर्ण बन्न सक्छ। खासगरी तौलका कारण स्क्यान गर्ने र पाइप लगाउने काम थप कठिन हुन्छ ।

त्यसैले राम्रो उपाय भनेको स्वस्थ र सन्तुलित खाना खाने अनि नियमित व्यायाम गर्नु हो । समाजिक दुरी राख्नुपर्ने अवस्थामा पनि हिँड्ने, हल्का दौडिने र साइकल चलाउने राम्रा विकल्प हुन् । अन्यथा बिस्तारै खाने गर्नूस् र आफूलाई धेरै खान लोभ्याउन सक्ने अवस्थालाई पन्छाउनूस् । – बिबिसीबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*