सार्वजनिक सेवा सञ्चालनका लागि गृहले तोक्यो नयाँ मापदण्ड
जेठ ६, काठमाडौं – गृह मन्त्रालयले सार्वजनिक सेवा सञ्चालनका लागि नयाँ मापदण्ड तोकेको छ । नेपालमा दिन-दिनै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृहले स्वास्थ्य सुरक्षाका लागि लकडाउनलाई कडा बनाएको हो ।
गृह मन्त्रालयद्वारा सोमबार जारी प्रेस–विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारी मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न भनिएको छ ।
त्यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्चालन गर्ने।’







