घरमै नमाज पाठ गरी आज इदुल फित्र मनाइँदै
जेठ १२, काठमाडौँ – अरबी पात्रो हिजरी सम्बत अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।
दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष शनिबार बेलुकी चन्द्रमा नदेखिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो ।
अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १० औँ महिना मानिन्छ । यसैकारण सोमबार इद उल फित्र पर्व मनाउन लागिएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताउनुभयो ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण आइतबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुने जनाइएको छ ।
मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा बढीमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदैछन् ।






