नेपालमा १ सय ५६ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ४२ पुग्यो
जेठ १५, काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज थप १५६ जना नयाँ संक्रमित पहिचान भएसँगै कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको जानकारी दिनुभयो । हालसम्म संक्रमित मध्ये ९४० जना पुरुष र १०२ जना महिला छन् ।
संक्रमित मध्ये १८७ जना स्वस्थ्य भइसकेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरस संक्रमित पहिचान भएको जिल्ला ५१ पुगेको छ ।
देशका सात प्रदेश मध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा ४१५ र सबैभन्दा कम गण्डकी प्रदेशमा १७ जना संक्रमित छन् । बागमती प्रदेशमा भने ४४ जना संक्रमित छन् ।






