दैलेखमा अनिश्चितकालीन निषेधाज्ञा जारी

जेठ २३, दैलेख – दैलेखमा कोरोनाभाइरस सङ्क्रमणकाे सङ्ख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, दैलेखले दुई नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
दैलेखको नारायण नगरपालिकामा १९५ जना र दुल्लु नगरपालिकामा ३६ जना कोरोना सङ्क्रमण पुष्टि भएका छन् । यस्तै, दुल्लु नगरपालिका वडा न ११ का ३५ वर्षे युवकको कोरोना सङ्क्रमण कारण मृत्यु भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखद्वारा जारी गरिएको निषेधाज्ञासम्बन्धी विज्ञप्तिमा कोरोना भाइरस सङ्क्रमणले जिल्लामा भयावह स्थिति सिर्जना हुन लागेपछि त्यसको नियन्त्रणको लागि निषेधाज्ञा जारी गर्नुपरेको उल्लेख गरिएको छ ।
नेपाल राजपत्रमा तोकिएको सेवाहरू औषधि पसल, किराना, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा खानेपानी तथा विद्युत सेवा, पेट्रोलियम पदार्थको ढुवानी, फोहोरमैला व्यवस्थापनबाहेक सबै सेवा स्थलहरू अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजिम नारायण नगरपालिकाको लागि नगरपालिका को पूर्वमा पर्ने लोहोरे खोला, पश्चिममा छामघाट, भिरखेत, उत्तरमा छान्न र दक्षिणमा चुप्राबजारसम्मको सीमा समेटिएको छ ।
दुल्लु नगरपालिकाका लागि पूर्वमा डुङ्गेश्वर श्रीस्थान, चुप्रा पश्चिममा पादुकादेखि कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वर सम्मको सीमा निर्धारण गरिएको छ ।