निसर्ग चक्रवातको प्रभावले देशभर वर्षा

तामसालिङ खबर
२३ जेष्ठ २०७७, शुक्रबार ११:३९

जेठ २३, काठमाण्डौ – अरब सागरमा उत्पन्न भएको निसर्ग चक्रवातको प्रभावले आज र भोलि देशभर वर्षाको सम्भावना रहेको छ । अधिकांश स्थानमा बिहानैदेखि वर्षा हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, निसर्ग चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ। यी सबै प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरि तथा प्रदेश ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही वर्षाको हुने जनाएको छ ।

त्यस्तै, प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ मा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*