आजको मौसम – ठूलो पानी पर्ने सम्भावना

तामसालिङ खबर
३१ जेष्ठ २०७७, शनिबार ११:४८

जेठ ३१ काठमाण्डौ – नेपालमा वर्षा गराउने मौसमी प्रणाली मनसुनले बिस्तारै गति लिइरहेको मौसमविद्ले बताएका छन् ।

शुक्रबार अपराह्न देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुनले पूर्वी क्षेत्रमा वर्षा गराउन थालिसकेको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार शुक्रबार राति पूर्वका कही स्थानमा भारी वर्षासमेत भएको छ। धरानमा १२१.८ मिलिमिटर वर्षा भएको हो ।

शुक्रबार राति खासगरी पूर्वका ओखलढुंगा, ताप्लेजुङ, इलाम, सुनसरी लगायत क्षेत्रमा मनसुनी वर्षा भएको हो । मौसमविद्का अनुुसार अहिले मनसुनी प्रणाली पूर्वमा मात्र सीमित छ र यो बिस्तारै देशभर फैलिनेछ ।

‘अबको ३ दिनभित्र देशको मध्य क्षेत्रसम्म फैलिसक्ने अनुमान मौसमविद्हरुले गरेका छन् । यसको अर्थ काठमाडौं उपत्यका लगायत क्षेत्रमा अहिले मनसुन भित्रिसकेको छैन । पूर्वी क्षेत्रबाहेक अन्य स्थानमा भने अहिले प्रिमनसुन अन्तर्गत स्थानीय वायु तथा पश्चिमी वायुकै प्रभावले मौसम बदली तथा वर्षा गराइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्य बदली भई प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*