प्रदेश सरकारलाई लकडाउनबारे निर्णय गर्ने अधिकार
असार, हेटौँडा – लकडाउनको निर्णय गर्ने अधिकार अब प्रदेश सरकारले पाउने भएको छ । कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले यसबारे निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई नै दिएको हो । यो निर्णय संगै अब प्रदेश सरकारले आफ्नो प्रदेश भर या जिल्लागत रुपमा लकडाउनको निर्णय गर्ने अधिकार प्राप्त गरेको हो ।
अब कुन जिल्ला वा क्षेत्र सिल गर्ने र कुन ठाउँमा खुल्ला गर्ने भन्ने निर्णय प्रदेश सरकारले गर्न पाउने भएका छन् । यस्तो निर्णय गर्दा प्रदेश सरकारले जिल्ला कोरोना जोखिम व्यवस्थापन समिति (डीसीसीएमसी) को सिफारिसमा सीसीएमसीसँग परामर्श लिनुपर्नेछ ।
अब आफ्नो जिल्लामा लकडाउनलाई कस्तो रुपमा लैजाने भन्ने जिल्लाले नै प्रदेशलाई सिफारिस गर्ने छन् । यसअघि देशभर लकडाउन एउटै रुपमा गरिएको छ । अब लकडाउन गर्दा जनसंख्याको अनुपात, कोरोना संक्रमितको सक्रिय केसहरुका आधारमा विभाजन गरिने भएको छ ।






