आजदेखि चार दिनसम्म अधिक वर्षा हुने
असार, काठमाडौं – आजदेखि चार दिनसम्म यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमान गरिएको छ । यसैले नदीतटीय क्षेत्र र अन्य क्षेत्रका बासिन्दा सबैले सावधानी अपनाउन भनिएको छ । सम्भावित विपद्लाइ ध्यानमा राखी आवश्यक पूर्वतयारी समेत थालिएको छ ।
मुख्यतः ४ वटा प्रदेशमा असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । वैशाखदेखि अहिलेसम्म लगातार परेको भारी वर्षाले बाढी डुवान र पहिरोको जोखिम बढाइदिएको प्राधिकरणले जनाएको छ ।
पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ ।
शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्ने तथा ‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई बिशेष सर्तक रहन भनिएको छ ।







