नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान
असार, काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिएपछि सरकारले थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।
गृह मन्त्रालयमा बुधबार बिहान आयोजित एक समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे ।
कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए । ‘मैले पहिले पनि भनेको हुँ, अहिले पनि भन्छु, सङ्गठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानून र निष्पक्षतामा रहेर हुन्छ’, उनले भने ।
प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उनले जोड दिए । प्रहरी सङ्गठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उनले बताए ।






