विपत्तिमा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता – प्रधानमन्त्री ओली
असार, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो लगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्य सहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको जनाउनुभएको छ ।
बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना रोकथामका सम्बन्धमा शुक्रबार साँझ नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेना, प्रहरी, कर्मचारी, सिङ्गो संयन्त्र र सम्बद्ध निकाय नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता सङ्कट र समस्यामा आफ्ना नागरिकको साथमा रहँदै आएको बताउनुभयो ।
केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पुर्याएको जनधनको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखित तुल्याएको जनाउँदै उहाँले प्रभावितको उद्धारमा आवश्यक सुरक्षाकर्मी परिचालन तथा सङ्घीय, प्रदेश र जिल्लामा रहेको विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको स्पष्ट गर्नुभयो ।
उद्धारका साथै नागरिकहरु विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेजस्ता अनेकौँ दूरगामी महत्त्वका कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिएको छु, प्रधानमन्त्री ओलीले भन्नुभयो, यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ ।
जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधि, राजनीतिक नेता, कार्यकर्ता, सबै नागरिक एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाउन म विशेष आग्रह गर्दछु । – रासस

रासस




