म्याग्दी पहिरोमा बेपत्ता ३५ मध्ये १२ को शव भेटियो

असार, काठमाडौं – शनिबार बिहानसम्म म्याग्दी पहिरोमा परी बेपत्ता ३५ मध्ये १२ को शव भेटिएको छ । अविरल वर्षासँगै शुक्रबार बिहान म्याग्दीको धवलागिरी गाउँपालिका – ६ मराङको बस्तीमा झरेको पहिरोले २१ जना र मालिका गाउपालिका बिमका गरी जम्मा ३५ जना बेपत्ता भएका थिए ।
शुक्रबार दिनभरी नेपाल प्रहरी र स्थानीयले खोजी गर्दा पहिरोमा पुरिएका ३ जनाको शव भेटिएको थियो । त्यस्तै शुक्रबार राति पनि बेपत्ताहरूको निरन्तर खोजी गर्दा शनिबार बिहानसम्ममा धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ । यद्यपि शवको पहिचान भने हुनसकेको छैन ।
पर्याप्त जनशक्ति अभावका कारण उद्धार र खोजीमा ढिलाई भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शुक्रबार नै उद्धारका लागि गएको हेलिकप्टर मौसम प्रतिकुलका कारण पुग्नसकेको थिएन ।
पहिरोबाट प्रभावित करिब ५ सयलाई पहिरो आसपासबाट हटाउँदै सुरक्षित स्थानमा सारिएको बताइएको छ । भिरालो जमिन, भूमिगत पानी, कमजोर भू–वनावटका कारण दुई दिनको अविरल वर्षाले म्याग्दीमा पहिरोले ठूलो क्षति गरेको हो ।
अझै धवलागिरी गाउँपालिका–६ मराङमा एक सुत्केरी महिलासहित अन्य केहीलाई तत्काल उद्धारको खाँचो देखिएको प्रहरीको भनाइ छ ।