भारतले कालापानीको सीमा क्षेत्रमा सुरक्षाकर्मी दोब्बर बढायाे

रासस
२० श्रावण २०७७, मंगलवार १५:३९

रासस, दार्चुला – भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । ​तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो ।

अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा गाडीमार्फत भारतले गस्ती बढाएको स्थानीयबासी बताउँछन् ।

‘विगतमा यतिका भारतीय सुरक्षाकर्मीकाे गाडी यस सडकखण्डमा आउँदैन थिए’, व्यास-२ का मुकेश बुढाथोकीले भन्नुभयो, ‘अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गएकाे असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौचसमेत गरेका थिए ।’

नेपाल सरकारले घाटीबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिनुभयो ।

नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ । भारतले लिपुलेक जोड्ने सडक निर्माणको क्रममा तम्बाकु, घाटीबगर, दोपाखे, पोला, बुदीलगायतका क्षेत्रमा महाकालीबाट नेपाली भू–भागमार्फत् डोजर ल्याइ आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ ।

नेपाली भू–भागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन । स्थानीयवासी जहेन्द्र धामी भन्नुहुन्छ, ‘ठाउँ–ठाउँमा नेपाल प्रवेश गराएर सडक खने । नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको छ ।’

नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् ।

व्यासका स्थानीयवासी भन्छन्, ‘भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ ।’ भारतीयले अहिले कालापानीभन्दा तल आइ नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवत जावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजिकैको कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ ।

नेपाली सेनाले घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङ्गरुमै नेपाली सेनालाई राख्न प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*