जनजाति प्रतिष्ठानको सदस्य-सचिवमा नविन रोक्कामगरलाई नियुक्त गर्ने तयारी

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार १६:१०

भदौ, काठमाडौं – आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिव नियुक्तिमा ढिलाई भइरहेको छ । उपाध्यक्ष नियुक्ति भएको करिब दुई महिना बित्न लाग्दा पनि सदस्य सचिव नियुक्त हुन सकेको छैन ।

नेकपाको आन्तरिक विवादका कारण पनि नियुक्ति ढिलाई भएको भनिएको छ । तर, अन्य नियुक्ति भने भटाभट भइरहँदा प्रतिष्ठानको सदस्य सचिव भने नियुक्ति हुन नसक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपामा आन्तरिक रुपमा उपाध्यक्ष र सदस्य सचिव नियुक्तिका लागि एक किसिमको सहमति बनिसकेको छ । पार्टीका दुई अध्यक्ष बीचमा नै उपाध्यक्ष पूर्वएमाले र सदस्यसचिव पूर्वमाओवादीबाट नियुक्ति गर्ने सहमति छ ।

उपाध्यक्षमा पूर्वएमालेको तर्फबाट गोकुलप्रसाद घर्ती नियुक्त भइसकेका छन् । तर, पूर्वमाओवादीको तर्फबाट सदस्य सचिव नियुक्ति गर्नुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

स्रोतका अनुसार, सदस्य सचिवमा नविन रोकामगरलाई नियुक्ति गर्ने तयारी भएको छ । प्रतिष्ठानमा यसअघि उपाध्यक्ष पनि मगर समुदायकै नियुक्त भइसकेका छन् । घर्ती र रोका एउटै जिल्ला रोल्पाका हुन् ।

उपाध्यक्षमा नियुक्त भइसकेका गोकुलप्रसाद घर्ती, नविन रोका र टासी स्याङ्बो गुरुङ्सेनी उपाध्यक्षका लागि सिफारिस भएका थिए । त्यसमध्ये घर्ती उपाध्यक्षमा नियुक्त भइसकेका छन् ।

घर्ती रोल्पाका हुन् । उनी पूर्वएमालेका हुन् । त्यस्तै सदस्य सचिव बनाउने तयारी गरेको नविन रोकामगर पनि रोल्पाकै हुन् । उनी पूर्वमाओवादीका हुन् । पार्टी सन्तुलन मिलाउँदा रोकामगर सदस्य सचिव बनाउने तयारीमा नेकपाका नेताहरु लागेका छन् ।

नविन रोकामगर नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष पनि हुन् । उनी नेपाल मगर संघका अध्यक्ष पनि हुन् । आदिवासी जनजाति आन्दोलनमा सशक्त व्यक्तिका रुपमा नविनलाई लिने गरिन्छ ।

यसअघि भने उपाध्यक्ष र सदस्य सचिव फरक फरक समुदायबाट बनाउने चलन थियो । त्यससँगै फरक भूगोलबाट नियुक्त गरिँदै आएको थियो । तर, यसपटक भने पार्टीको आन्तरिक सन्तुलन मिलाउनका लागि नेकपाका नेताहरुले एकै जिल्लाका, एकै समुदायका भएपनि नियुक्तिको तयारी गरेको स्रोतले बताएको छ । – नागरिक खबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*