यसपटक घरमा बसेर तीज मनाऔँ
भदौ, काठमाण्डौ (रासस) – कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण यस वर्ष तीज विगत वर्षको जस्तो नहुने भएको छ ।
जिल्लाका विभिन्न ठाउँमा समुदायस्तरका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेपछि सतर्कता अपनाइएको छ । यसैक्रममा देवघाट गाउँपालिकाले आपसमा जुटेर नभई घरघरमै बसेर तीज मनाउन आग्रह गरेको छ ।
आपसमा जुटेर, भेला भएर, टोलछिमेकमा यताउता गरेर नभई आआफ्नै घरमा स्वास्थ्य सुरक्षा सावधानीसहित तीज मनाउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । ‘
जीवन रहे आगामी वर्षहरुमा चाडबाड मनाउन, रमाइलो गर्न, नातागोता भेटघाट गर्न सकिन्छ, जीवन नै नरहे यी सबै सपना मात्र हुनेछ’, थापाले भने, ‘यस्तो संवेदनशील स्थितिमा हामी सबै सजग रहौं, सचेत रहौँ, सामाजिक दूरी कायम गरौं, भीडभाड नगरौं ।’
कोभिड–१९ को महामारीको जोखिम र सङ्क्रमणको खतरालाई ध्यानमा राखी देवघाट गाउँपालिकाले नयाँ मापदण्डसहितको बन्दाबन्दी आह्वान गरेको र कोभिड–१९ विरुद्ध देवघाटमा जारी अभियानलाई प्रभावकारी बनाउन समुदायस्तरबाट सहयोगको अपेक्षा गरिएको छ । रासस






