वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङद्वारा भाडावापत ४ लाख मिनाहा

भदौ, पोखरा – देशमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आर्थिक क्षेत्र अस्तव्यस्त भएको बेला वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङले चैत महिनादेखि असोज सम्मको भाडावापत करिब ४ लाख रुपैयाँ मिनाहा गरिदिएका छन् ।
गुरुङको घरमा सञ्चालित पोखरा जाभा कफी हाउसका सञ्चालक एकराज न्यौपानेका अनुसार, चैतदेखि असोज महिनाको भाडामा तीन महिनाको पूर्ण छुट तथा चार महिनाको आधा मात्रै लेनदेन गर्ने एवं कार्तिक पछाडि पनि बन्दाबन्दी नै रहेमा बत्ती पानीको मात्र बुझाउने, स्थिति सुधार हुँदै गएमा तद्अनुसार गर्दै जाने सौहार्दपूर्ण सहमति भएको बताए ।
कोरोना संक्रमणको जोखिममा सरकारले कोरोना संक्रमण रोक्नका लागि गरेको पहललाई साथ दिँदै आफू र आफ्नो परिवारले यस्तो निर्णय गरेको घरधनी गुरुङले जानकारी दिए ।
गुरुङले पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त व्यवसायीलाई घर भाडामा दिँदा एड्भान्स नलिई १० वर्षको लागि सम्झौता गरिएको छ ।
– नगरिक खबर डटकमबाट