असोज देखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने तयारी
भदौ, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ ।
मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउन लागेको बताइएको छ । हालै मात्र ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेर मन्त्रालयले वैकल्पिक माध्यमबाट पढाई गर्ने बाटो खुला गरेसँगै यस्तो तयारी थालेको हो ।
कोरोना भाइरस महामारीका कारण विद्यालयहरु खुल्न नसकेपछि निजी विद्यालयहरुले यसअघि देखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् भने सामुदायिक विद्यालयहरु पनि अनलाइन कक्षाको तयारीमा जुटेका छन् । इन्टरनेट पुगेका ठाउँमा अनलाइन कक्षा र इन्टरनेट पहुँच नभएका ठाउँमा शिक्षक नै विद्यार्थीका घर–घरसम्म पुगेर सिकाइलाई निरन्तरता दिइँदै आइएको छ ।
शिक्षा मन्त्रालयले इन्टरनेट सेवा प्रदायकसँग विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेट व्यवस्थापन लगायतका विषयमा छलफल सुरू गरेको बताइएको छ । मन्त्रालयका अनुसार असोज पहिलो सातासम्म इन्टरनेटमा सहुलियत वा निःशुल्क उपलब्ध गराउनेबारे निर्णय लिइने छ ।
मन्त्रालयले हालै जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा इन्टरनेट निःशुल्क उपलब्ध गराउने उल्लेख छ । यस्तै, एकीकृत शिक्षा पोर्टल निर्माण गर्ने र शैक्षिक टेलिभिजन च्यानल स्थापना र सञ्चालन, विद्युतीय शिक्षण सामग्री विकास, अनलाइन प्रविधि तथा उपकरण, भर्चुअल ल्याब लगायतका लागि मन्त्रालयले आवश्यक बजेटसमेत व्यवस्थापन गर्ने निर्देशिकामा उल्लेख छ ।






