‘नेफिन आइसीसी’ले राजकुमार चेपाङ्गको परिवारलाई आर्थिक सहयोग
असोज, चितवन – नेपाली सेनाको कुटाईबाट ज्यान गुमाएका राप्ती नगरपालिका २ का राजकुमार चेपाङ्गको परिवारलाई नेपाल आदिवासी जनजाति महासंघ, अन्तराष्टिय समन्वय समिति (नेफिन, आइसीसी) ले एक लाख नगद सहयोग गरेको छ ।
नेफिन आइसीसीले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रिय सदस्य राजु चौधरी मार्फत चेपाङ्ग परिवारलाई सहयोग गरेको हो ।
बिदेशमा रहेका आदिवासी जनजाति नेपालीहरुले संकलन गरि पठाएको सहयोग रकम चेपाङ्ग परिवारलाई हस्तान्तरण गरिएको चौधरीले बताए ।
उनले चेपाङ्गमाथि भएको दुखद घटनालाई बिश्वभर रहेको आदिवासी जनजातिहरुले अन्यायको रुपमा लिदै सहयोग गरेको स्पष्ट पारे । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले चेपाङ्ग परिवारको अवस्था दयनीय रहेको बताउँदै आफुले निरन्तर सहयोग गरिरहेको बताए ।
सेनाको कुटपिटबाट चेपाङ्गको ज्यान गएदेखि नै सो परिवारको न्यायको लागि आफु लड्दै आएको उनले प्रस्ट्याए । उनले आफ्नो ब्यक्तिगत तथा नगरपालिकाको तर्फबाट हुने हरेक प्रकारका सहयोग चेपाङ्ग परिवारलाई गरिएको र थप गर्ने प्रतिबद्धता जनाए । घटनापछि लामाले ब्यक्तिगत लगानीमा चेपाङ्गको घर निर्माण गरिदिएका छन ।
सहयोग हस्तान्तरण कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष सुरवीर थापा, चेपाल संघ चितवनका सचिव इन्द्रजित प्रजा लगायतको सहभागिता रहेको थियो । राजकुमार चेपाङ्गको गत साउनमा सेनाको कुटाईबाट ज्यान गएको थियो ।
गत साउन १ गते माछा मार्न राप्ती खोला गएका चेपाङ्ग सहित ५ जनालाई चितवन राष्टिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले निर्मम कुटपिट गरेका थिए । कुटपिटपछि बिरामी परेका राजकुमारको साउन ७ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको मृत्युपछि उनको पक्षमा संघर्ष चर्किएको थियो । पछि निकुञ्ज, नगरपालिका र चेपाङ्ग परिवारबीच पिडित परिवारलाई १० लाख क्षतिपुर्ति सहितका विभिन्न सहमति भएपछि अन्त्यष्टि गरिएको थियो ।






