चट्याङबाट मृत्यु भएका परिवारलाई एक-एक लाख सहयोग

पुस, सप्तरी – सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप एक-एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहत स्वरुप रु एक÷एक लाखका दरले मृतक चार जनाको परिवारलाई सहयोग उपलब्ध गराएको हो ।
राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो ।
मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक-एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो ।