झरनाको बकैया साहित्य महोत्सव फागुन १४ र १५ गतेमा हुने

माघ, हेटौडा (बकैया) – झरना साहित्यिक परिवारले यसवर्ष पनि बकैया साहित्य महोत्सव गर्ने भएको छ । गतवर्षबाट सुरु गरेको महोत्सवलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
बकैया गाउँपालिका–५ श्रीपुरमा रहेको प्रभात माविमा २०७७ फागुन १४ र १५ गते महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताए । महोत्सवमा पहिलो दिन फागुन १४ गते शुक्रबार नवसर्जक (बालबालिका विशेष) रचना वाचन, पुरस्कार वितरण एवम् बहसमूलक कार्यक्रम रहेको छ । दोस्रो दिन फागुन १५ गते शनिबार स्रष्टा सम्मान, स्थानीय सांस्कृतिक नृत्य, जग्गा दाताहरूलाई सम्मान सँगै साहित्यिक रचना वाचन तथा गायन कार्यक्रम रहेको गौतमले जानकारी दिए ।
झरनाले विगतदेखि नै विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । सोही क्रमको निरन्तरता स्वरूप यसवर्षको महोत्सवमा पनि साहित्यकार, पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका सचिव मसान उपासकले बताए । उनका अनुसार यसवर्ष होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७७ सुनसरीका अग्रज साहित्यकार प्राडा भीम खतिवडालाई प्रदान गरिने छ । १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशी रहेको पुरस्कारका संस्थापक नुरप्रसाद गौतम हुन् ।
यस्तै, बाबुलाल–भोजमाया प्रतिभा सम्मान–२०७७ मकवानपुरे अग्रज कवि आरआर चौलागाईँ प्रदान गरिने भएको छ । ११ हजार १ सय ११ रुपैयाँ राशीको यस पुरस्कारका संस्थापक विनोद सुवेदी रहेका छन् । शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान– २०७७ अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिने सचिव उपासकले जानकारी दिए । काठमाडौँ निवासी पौडेललाई प्रदान गर्न लागिएको ११ हजार १ सय ११ राशीको पुरस्कारका संस्थापक रमेशमोहन अधिकारी हुन् ।
यसैगरी, खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान–२०७७ नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने छ । अर्पण र दर्पण पराजुलीले स्थापना गरेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७७ मकवानपुरे साहित्यकार रुकु कार्की प्रदान गरिने भएको छ । राजन दङ्गालले स्थापना गरेको उक्त पुरस्कारको राशी पनि ५ हजार ५ सय ५५ रुपैया रहेको छ ।
यस्तै, सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७७ मकवापुर बकैयाका मनहरी लामिछानेलाई प्रदान गरिने सचिव उपासकले बताए । ५ हजार ५ सय ५५ रुपैया राशीको उक्त पुरस्कारका संस्थापक तुलसी गिरी हुन् ।
झरना–बकैया पत्रकारिता पुरस्कार–२०७७ बाट रौतहटका खेम बोलखेलाई प्रदान गरिनेछ । पुरस्कार संस्थापक रहेको बकैया गाउँपालिका रहेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । यसैगरी, झरना–बकैया नवप्रतिभा पुरस्कार–२०७७ बाट कबैयाका दीपशिखा घिमिरेलाई प्रदान गरिने छ । पुरस्कार संस्थापक चन्द्रकुमार राई रहेको उक्त पुरस्कारको राशी २ हजार ५ सय ५ रुपैया रहेको जनाएको छ ।