२५ वर्षमा तामाङ साहित्यमा उछाल आयो : भाषाविद् योञ्जन
चैत्र, काठमाडौं – भाषाविद् अमृत योञ्जन तामाङका अनुसार तामाङ साहित्यमा उछाल आएको २५ वर्ष जति भएको छ । प्रजातन्त्रको पुनर्वहालीपछि तामाङ मातृभाषाप्रेमी साहित्यकारहरूको लेखन तामाङ साहित्यमा रह्यो ।
यसबीचमा तामाङ साहित्यमा विद्यागत लेखन पनि हुँदै आएको छ। बर्सेनि कृतिहरू फाट्टफुट्ट प्रकाशन हुँदै आएका छन् । नियमित साहित्यिक शृङ्खलाहरू चारवटा तामाङ साहित्यिक संस्थाहरूले गर्दै आएका छन्। यसरी तामाङ साहित्य लेखनको नियमितताले भाषाविद् तामाङ हौसिएका रहेछन्। उनमा खुसी देखियो।
शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा भएको एक कार्यक्रममा उनले मुलुकमा भएको प्रत्येक राजनीतिकदेखि सामाजिक, शैक्षिकलगायत तमाम परिवर्तनको प्रत्यक्ष अनुभूति तामाङहरूले गरेको भन्दै अनुभूतिहरूलाई तामाङ साहित्यमा अभिव्यक्त गर्नुपर्नेमा जोड दिए । अनुभूतिहरूलाई सिर्जनामा नढालिए गफ मात्रै हुने पनि बताए । उनी मातृभाषा विकासको आन्दोलनमा वर्षौंदेखि क्रियाशील छन् ।
उनले प्रहरी परिसरमा नेवारी भाषा बोलेको आरोपमा दुई जना नेवारलाई प्रहरीले हत्कडी लगाएर हिरासतमा थुनेको केहीदिन अगाडिको प्रसङ्ग कोट्याउँदै सरकार मातृभाषाको विरुद्धमा रहेको आरोप लगाए । उनको जोड सरकारले सबै मातृभाषालाई समान व्यवहार गर्दै मातृभाषामा शिक्षाको अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्नेमा रहयो।
सोही अवसरमा योगेश राल्फाली संयोजक, रचना मोक्तान सहसंयोजक, सजना लामा गोले सचिव, आर्थिक संयोजक कुन्ती थामी सम्मिलित ११ सदस्यीय आदिवासी जनजाति साहित्यकार महासंघको ताम्सालिङ राज्य समिति गठन भएको छ। समिति गठनपछि भने तामाङ डाजाङको २०३ औं नियमित साहित्यिक शृङ्खला भयो।
प्रत्येक महिनाको अन्तिम शनिबार हुने डाजाङको यो साहित्यिक शृङ्खलामा पनि क्रान्ति चेत, सत्तासँगको दूर सम्बन्ध, माटो र भाषा प्रेमसँगै राजनीतिक परिवर्तनको लडाइँमा रगत पसिना बगाएपनि राजनीतिक लाभबाट बञ्चित हुनुपरेको तामाङ समुदायको यथार्थता चित्रित कविता, गजल र गीत प्रस्तुत भए ।
अर्जुन पाख्रिन, सजना गोले, अमर ‘विरही’ थिङ, कविराज काल्तान, शान्ति गोले, दिनेश मोक्तान, सिर्जना गोले, सञ्जु ब्लोन, हिरामायाँ घिसिङ, योगेश राल्फाली, ङेमा थाङपाल, रचना मोक्तान र फूलकुमार बम्जनले कविता वाचन गर्दा जङ्ग योञ्जन तामाङ, ईश्वर थोकर र राजु मोक्तानले गजल तथा च्याङ्बा योञ्जन र सुनिता बलले तामाङ गीत गाएका थिए ।
तामाङ डाजाङका पूर्वअध्यक्ष तथा पत्रकार बुद्ध योञ्जनले तामाङ मातृभाषालाई समृद्ध बनाउने माध्यम नै साहित्य भएको भन्दै साहित्य लेखनमा जोड दिनुपर्ने बताए। साहित्यका अनेकन विद्यामा लेखिँदा मातृभाषामा शिक्षालाई कार्यान्वयन गर्न बल पुग्ने उनको भनाइ छ ।

ताम्सालिङ खबर 




