मकवानपुरको प्रतापपुर रमौलीबाट गैँडा गणना शुरु
चैत्र, हेटौँडा – दुर्लभ हुँदै गएको वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा सोमबारबाट गणना थालिएको छ । ६ बर्षपछि सोमबार बिहान चितवन राष्ट्रिय निकुन्जको पूर्वी क्षेत्रस्थित पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका स्थित रमौली–प्रतापपुरमा पुगेर वन तथा वातावरणमन्त्री प्रेम आलेले हात्तीमा चढेर सिठी फुक्दै गैँडा गणना सुरु भएको घोषणा गर्नुभयो ।
चितवन राष्ट्रिय निकुन्ज सहित पर्सा राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा गैँडा गणना हुनेछ । सोमबारबाट सुरु भएको गणनाका लागि चितवन राष्ट्रिय निकुन्जलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ । हरेक दिन एउटा ब्लकमा गैँडा गणना गरिने चितवन राष्ट्रिय निकुन्जले जानकारी दिएको छ ।
गैँडा बस्ने स्थान, उनीहरुको उमेर, शारीरिक अवस्था लगायतका विवरणहरु हात्तीमा सबार गणकहरुले संकलन गर्नेछन् । तीन सातामा चितवन राष्ट्रिय निकुन्जभरिकै गैँडा गणना गरेर सकिने अनुमान गरिएको छ ।
वन तथा वातावरणमन्त्री आलेले गैँडा गणना सुरु गर्नुभएको क्षेत्र मकवानपुरको रमौली प्रतापपुर पनि गैँडाको बासस्थलको रुपमा मानिन्छ । आइतबार मात्रै पनि संरक्षणकर्मीहरुले उक्त क्षेत्रको अनुगमन गर्दा तीन वटा गैँडा र एउटा बाघ फेला परेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङले जानकारी दिनुभयो ।
वन्यजन्तु र प्राकृतिक प्रकोपका कारण रमौली–प्रतापपुरमा रहेका ३७३ घरपरिवारलाई राप्ती नदीबाट उत्तरतर्फ गोदाम जंगल फँडानी गरी बस्ती स्थानान्तरण गरिएपछि अहिले रमौली प्रतापपुर क्षेत्रमा निकुन्ज सुरक्षार्थ सेना मात्रै बस्दछ ।
हरेक दिनजसो गैँडा, बाघ, चित्तल, हरिण लगायत वन्यजन्तु बस्ती स्थानान्तरण गरिएपछिको रमौली–प्रतापपुरस्थि घाँसे मैदानमा देख्न सकिने भएकोले मनहरीलाई सौराहजस्तै आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको अध्यक्ष तितुङले बताउनुभयो । – गोरखापत्र अनलाइन डटकम

ताम्सालिङ खबर 




