हरिवनमा मातृभाषा शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चैत्र, सर्लाही (हरिवन) – हरिवन नगरपालिकाको सहकार्यमा जिल्ला आदिवासी जनजाति महासङघ घुर्कौलीमा स्थानीय भाषा नीति निर्माण तथा मातृभाषामा शिक्षा विषयक १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
हरिवन नगरपालिकाका विद्यार्थी तामाङ घेदुङका अध्यक्ष साङबहादुर लोले सञ्चालन गरेका उक्त कार्यक्रमको अध्यक्षता वडा नं.५ का अध्यक्ष नागेन्द्रप्रसाद साहले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि भाषा आयोगका सदस्य उषा हमालज्यू हुनुहुन्थ्यो भने भाषाविद् अमृत योञ्जन तामाङ र भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा. लोकबहादुर लोप्चन विषय विज्ञ वा सहजकर्ताको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा सर्लाही जिल्लाका नेकपाका नेता सुरेन्द्र लामा, जिल्ला आदिवासी जनजाति महासङ्घका अध्यक्ष बुद्धिबहादुर सुनुवार, वडा समितिका सदस्य सजनी लामा सहित सामुदायिक विद्यालयहरूका प्रअ एवम शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानीय तामाङ समुदायका अभिभावकहरूको समेत सहभागिता रहेको थियो ।
लेखक एवम सम्पादक निष्णु थिङले भाषिक अधिकार, हरिवनमा भाषाहरूको स्थिति र भाषिक नीति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।