चितवन प्रशासनद्वारा भोलिबाट ३१ गते सम्म निषेधाज्ञा जारी
बैशाख, चितवन – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले भोली (बैैशाख १६ गते) रातीदेखि १५ दिन सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भयो ।
चितवनमा आजसम्म कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएसंगै कुल सक्रिय संक्रमितको संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् । त्यस्तै, रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका २ जना, राप्ती, कालिका र इच्छाकामनाका एक-एक जना संक्रमित थपिएका छन् । काठमाडौंमा भोलिदेखि निषेधाज्ञा हुंदैछ भने नेपालगन्ज पोखरामा निषेधाज्ञा लागु भइसकेको छ ।






