सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द हुने

तामसालिङ खबर
२१ बैशाख २०७८, मंगलवार ०९:४७

बैशाख, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन थप कडा पार्दै अत्यावश्यक बाहेक सबै सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द रहने बताउनुभएको छ ।

उहाँले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने एक हदसम्मको लकडाउन आवश्यक छ भन्ने विज्ञहरूको सल्लाहअनुसार निषेधाज्ञा जारी गरिएको र यसलाई थप कडा पारिने बताउनुभएको हो ।

उहाँले कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर र मृत्युदर गत वर्षको तुलनामा बढी रहेकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यसलाई थप कडाइ गरिँदै छ र प्रभावकारी ढंगले लागू गर्न पहिले झैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।’

उहाँले वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान र वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जानकारी पनि दिनुभयो ।

नेपाली नागरिकको प्रवेशका लागि नेपाल–भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्‍चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत् सञ्‍चालन हुने व्यवस्था मिलाइएको बताउनुभयो ।

भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइनुका साथै सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाउन लगाइएको पनि उहाँले बताउनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*