बकैयामा बाल साहित्य समिति गठन
बैशाख, हेटौंडा (बकैया) – मकवानपुरको बकैया गाउँपालिकामा बाल साहित्य समिति गठन भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको २६५ औँ साहित्य शृङ्खलाका अवसरमा शनिबार झरना–बकैया बाल साहित्य परिचालन समिति गठन भएको हो ।
भर्चुअल (जुम)को माध्यमबाट भएको रचना वाचन तथा समिति गठन कार्यक्रममा बकैयास्थित कालिदेवी मावि शिखरपुर, प्रसिद्ध मावि मन्थली, बुद्ध मावि हात्तीसुँडे, महेन्द्र मावि छतिवन, प्रभात मावि श्रीपुर लगायतका विभिन्न मावि तथा आवि अन्तर्गत बाल साहित्य समितिका दर्जनबढी बालबालिकाहरूले कविता, गीत, गजल, मुक्तक लगायत रचना समेत वाचन गरेका थिए ।
झरनाले पछिल्ला वर्षहरूमा ‘सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान’अन्तर्गत बकैया गाउँपालिका भित्रका मावि, तथा आविमा स्थलगत रूपमा उपस्थित भई काव्य प्रशिक्षण गरी गठन गरेका बालसाहित्य समितिका गतिविधिहरूलाई प्रभावकारी बनाउनका लागि १३ सदस्यीय बाल साहित्य परिचालन समिति गठन गरिएको संस्थाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
झरना–बकैया बालसाहित्य परिचालन समितिका संयोजक लामिछाने, अध्यक्ष दोङ र सचिव दाहाल ।
झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको संयोजकत्वमा गठित ‘झरना–बकैया बाल साहित्य परिचालन समिति’को अध्यक्षमा बकैया–५ राजदमारका विजय दोङ र सचिवमा बकैया–३ हात्तीसुँडेकी स्वस्तिका दाहाल चयन भएका छन् ।
परिचालन समितिका सदस्यहरूमा बकैया गाउँपालिकामा रहेका सम्पूर्ण माध्यमिक विद्यालय र आधारभूत विद्यालयहरुमा यसअघि नै गठन भएका बालसाहित्य समूहका ११ जना अध्यक्ष विद्यार्थीहरू रहेको संस्थाका सचिव मसान उपासकले जानकारी दिए ।
कार्यक्रममा मन्तव्य राख्दै संस्थाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले नयाँ पुस्तालाई राम्रोसँग परिचालन गर्न सके आगामी दिनमा पनि साहित्यको नेतृत्व स्थापित हुन सक्नेमा आफू ढुक्क रहेको बताए । कार्यक्रममा कालिदेवी मावि शिखरपुरका प्रधानाध्यापक हरिवंश चौधरी, बुद्ध मावि हात्तीसुँडेका शिक्षक प्रतिनिधी हरि घिमिरे, विद्यार्थीहरु स्वस्तिका दाहाल, निराजन नेपाल, गगन शर्मा, कविता माझी लगायतले रचना वाचन गरेका थिए ।






