मंगलबारदेखि बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा खोप अभियान सुरु हुने

तामसालिङ खबर
२८ असार २०७८, सोमबार २१:२५

असार, काठामाण्डौ – सरकारले मंगलबारदेखि बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ५५ वर्षमाथिको उमेर समूहका नागरिकलाई कोरोनाविरुद्धको खोप दिने भएको    छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पहिलो चरणमा अहिलेसम्म खोप नलगाएका ५५ वर्षदेखि माथिका सबै नागरिकलाई भेरोसेल खोप दिने निर्णय गरेको छ । यस्तै विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा परिचालकलाई पनि यसैपटक खोप दिइँदैछ ।

यस्तै सरकारले तोकेको अत्यावश्यक सेवामा सम्लग्न खोप लगाउन बाँकी व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतका खोप शाखा प्रमुख डा झलक गौतमले बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा खोप अभियान सञ्चालन गरिने र बाँकी प्रदेशमा चीनबाट खरीद गरिएको थप खोप आएपछि अभियान शुरु हुने बताए ।

त्यस्तै कोभ्याक्स सुविधा अन्तरगत अमेरिकाबाट आज आएको जोन्सन एण्ड जोन्सनको जोनसेन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई दिइने भएको छ । तर भेरोसेल खोप लगाइसकेपछि मात्रै अमेरिकी खोप लगाउन शुरु हुने बताइएको छ ।

अमेरिकी खोप पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, यसअघि खोप लगाउन छुटेका स्वास्थयकर्मी तथा सरसफाईकर्मीलाई दिने तयारी छ । जोनसन एण्ड जोनसनको खोप एक डोज लगाए मात्रै पुग्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*