जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण सम्पन्न

तामसालिङ खबर
३ श्रावण २०७८, आईतवार ११:१४

साउन, काठमाण्डौ – देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर-जयनगर रेल्वे ट्रयाकको आइतबार गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ ।

जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो । भारतीय कोकर्ण कम्पनीका प्रतिनिधि तथा नेपालका महाप्रबन्धक गुरु भट्टराईद्वारा संयुक्त रुपमा निरीक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पूजा गरिएको थियो ।

स्पिड परीक्षणसम्बन्धी जानकारी दिँदै महाप्रबन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रीडी नामको इञ्जिन तथा दुई मालवाहक डब्बा सहित आएको ट्रेन आउने बेलामा ६० प्रतिकिलो मिटरको स्पिडमा आएको र फर्कने बेलामा १२० को स्पिडमा फर्किएको बताए ।

उनले स्पिड चेकका क्रममा भारतीय रेल्वेका ड्राइभरलाई नेपालको रेल्वे ट्रयाकसम्बन्धी ज्ञान नभएका कारण आउने समयमा ६० को स्पिडमा ल्याइएको र फर्किने बेलामा १२० को स्पिडमा फर्केको जनाए ।

महाप्रबन्धक भट्टराईले गरिएको परीक्षण सफल भएको बताए । उनले रेल ट्रयाकमा कही कतै कुनै समस्या नदेखिएको जनाए । उनले लिकको समय समयमा मर्मत तथा पुलको पनि सबै काम भइसकेकाले समस्या नरहेको बताए ।

ट्रयाक परीक्षण सफल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खजुरीदेखि कुर्थासम्म रेल आइपुग्दा कुनै पनि स्थानमा क्षति नभएको जिप्रकाले जनाएको छ । परीक्षणका क्रममा ट्रयाक तथा स्टेशनमा पर्याप्त सुरक्षाकर्मी तथा कर्मचारी खटाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*