नेपालमा १०४ वर्ष पहिल्यै थियो सुरुङमार्ग
साउन, काठमाडौं – नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ। तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो । सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन् । जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो । यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो।
यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो । एकातर्फका भाग पहिरोले पुरिएपछि १ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ । चौडाइ २।५ मिटर र उचाइ तीन मिटर छ । पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुुरुङमार्ग निर्माण गरिएको थियो । त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो।
अब भने बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुनर्निर्माण थालेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन् । ‘यो इतिहास नयाँ पुस्तालाई हस्तान्तरण सँगै पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने हामीले अपेक्षा लिएका छौं’, मुख्यमन्त्री पौडेलले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

पत्रपत्रिकाबाट 




