उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो
साउन, काठमाण्डौ – कोरोना भाइरस संक्रमणको दर बढेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाइएको छ। मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले साउन २७ सम्म एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि साविकको आदेशबमोजिम निषेधाज्ञाको अवधि थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराएका थिए। ‘कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुँदैछ,’ काठमाडौंका प्रजिअ पराजुलीले भने, ‘यसलाई मध्यनजर गर्दै साबिकको आदेशबमोजिम निषेधाज्ञाको अवधि थप गरिएको हो।’ पछिल्लोपटक थपिएको निषेधाज्ञा अवधि बुधबार राति १२ बजेसम्म सकिँदैछ।
बिहीबारदेखि जारी हुने थप एक साताको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, चिडियाखाना र रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरूको भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न/गराउन पाइने छैन।
त्यस्तै खुला स्थानमा मानिसहरूको भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्सव र भोज भतेरलगायत गर्न/गराउन रोक लगाइएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न पाइने छैन। शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन पाउने छैन। स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।
तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ। यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो। मापदण्ड उल्लंग्घन हुँदा जोखिम बढ्न थालेको उपत्यका प्रशासनको निष्कर्ष थियो।
औषधी तथा स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा निर्वाध रूपमा सञ्चालन गर्न पाइनेछ। पसल तथा व्यवसायहरू बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रूपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेछ।






