बागमती प्रदेशसभामा तीन सदस्यीय उपसमिति गठन
साउन, हेटौडा – बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बिहिबार बसेकोे बैठकले तीन सदस्यीय उप–समिति गठन गरेको छ ।
सहकारी ऐन र आर्थिक बर्ष २०७८-०७९ को अर्थ विधेयकमा देखिएको समस्याबारे आवश्यक छलफल गर्न र कृषि तथा वन विश्व विद्यालय रामपुर चितवनको हाताभित्र निर्माण गरिने ल्याबको टेन्डर प्रक्रियाको विषयमा परेको निवेदनबारे निवेदकवाला र मन्त्रालयसंग छलफल गरी आवश्यक रायसहित प्रतिवेदन बुझाउन उप–समिति गठन गरिएको हो ।
बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठको संयोजकत्वमा सांसद् कञ्चन खनाल र बलराम पौडेल सदस्य रहनेगरी उप–समिति निर्माण गरिएको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले बताए ।
प्रत्यायोजित उप–समितिमा रहेकी सांसद सरस्वती बस्नेत हाल सामाजिक विकासमन्त्री रहेकोले उनको स्थानमा सांसद इन्द्रमाया गुरुङलाई चयन गर्ने निर्णय गरिएको पनि जानकारी दिए । समितिले दार्चुला जिल्लामा तुइन दुर्घटनामा परी बेपत्ता भएका ३३ बर्षीय जयसिंह धामीको खोजीकार्य गरेर दोषीमाथि कारबाहीको लागि सरकारसमक्ष माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश बीउ बिजन ऐन, २०७६ तर्जूमा भइसकेको अवस्थामा उक्त ऐनलाई कार्यान्वयन प्रक्रियामा सहज बनाउन आवश्यक नियमावली तर्जूमा गर्न प्रदेश सरकारसमक्ष माग गर्ने निर्णय गरिएको उनले बताए ।
उक्त समितिको बैठकमा प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वको विषयमा छलफल गरी सरकारको ध्यानाकर्षण गर्दै नेपालमा उपलब्ध हाल तीनै थरिको खोप एउटै व्यक्तिले लिएकोबारे निगरानी गरी त्यसले पार्ने असरको सम्बन्धमा मन्त्रालयले अनुसन्धान गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।
त्यसैगरी प्रदेशका १३ वटै जिल्लाका सरकारी अस्पतालमा निशुल्क कोभिडका बिरामीको उपचार हुने र निजी अस्पतालमा शुल्क लिने हुँदा उपचारमा समस्या हुने भएकोले सरकारी अस्पताल बाहेक अन्य अस्पतालमा पनि कोभिडका बिरामीको उपचारको लागि वातावारण बनाउन मन्त्रालयले संघीय सरकारसंग छलफल गरी कार्यान्वयनको अवस्था श्रृजना गर्न ध्यान दिनुपर्ने विषयमा समेत बैठकमा छलफल भएको समितिका सचिव तथा प्रवक्ता पन्तले बताए ।






