सुनाचुरी घटना: मनहरीको स्थानीय र सेनाबीच सहमति
साउन, हेटौंडा – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा पीडित पक्ष, स्थानीय र सेनाबीच सहमति भएको छ ।
शनिबार दिउँसो ३ बजेदेखि ३ घण्टासम्म सेना, स्थानीयहरु, पीडित पक्ष र जनप्रतिनिधिहरुले वार्ता गरी सहमति कायम भएको छ ।
सेना, स्थानीय, पीडित पक्ष र जनप्रतिनिधिहरु सबैले नियमको पालना गर्नुपर्ने, कसैलाई अभद्र व्यबहार गरी कुटपिट गर्न नमिल्ने, निश्चित क्षेत्रमा घाँस दाउरा काट्न मिल्ने र पीडित पक्षलाई उपचार गर्नुपर्ने सहमति भएको हो ।
शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सुनाचुरी स्थित राप्तीखोलामा माछा मारेको भन्दै सेनाले मनहरीका २ युवकलाई कुटपिट गरेको थियो । मनहरी-६, सुनाचुरी चौकीटोलका २० वर्षीय विपेन्द्र रुम्बा र सोही स्थानका २६ वर्षीय बुद्धिबहादुर मोक्तानलाई सेनाले कुटपिट गरेको थियो ।
सेनाद्वारा पिटिएका युवाहरुको गल्ती नभएको, सेनाले त्यस्तो व्यवहार गर्न नमिल्ने र सेनाले माफी माग्नुपर्ने भन्दै स्थानीय आक्रोशित बनेका थिए ।






