लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार १८:०१

भदौं, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् । प्रदेशसभा बैठकमा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत र विपक्षमा शून्य मत खसेको हो ।

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन् ।

प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा ४३ जनाले मतदान गरेका थिए । एक जना तटस्थ देखिएका थिए ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठकमा सहभागी नभएका कारण सो प्रक्रियामै सामेल भएन ।

मुख्यमन्त्री केसीले नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकारको नेतृत्व गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*