बेरुजु र भ्रष्टाचार नियन्त्रणसम्बन्धी हेटौंडामा संवाद कार्यक्रम
भदौं, हेटौंडा – बेरुजु,भ्रष्टाचार तथा नियन्त्रण,न्यूनिकरणमा नागरिक,नागरिक समाजको भुमिका विषयक संवाद कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ । अमेरिकी विकास नियोग यूएसएडको आर्थिक सहयोगमा डेक नेपाल र नागरिक समाज मञ्च मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा लेखापरीक्षण, लेखापरीक्षणका उद्देश्य, अन्तिम लेखापरीक्षणको भुमिका, भ्रष्टाचार, बेरुजु, बेरुजु फछ्र्यौट, भ्रष्टाचार निवारणमा नागरिक समाजको भुमिका लगायतको विषयमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौंडाका प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले सहजिकरण गरेका थिए ।
कार्यक्रम नागरिक समाज मञ्च मकवानपुरकी संयोजक रमिला सापकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका सचिव बोलबहादुर कार्की, सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।






