चेपाङ्ग समुदायको आज सास्कृतिक पर्व ‘न्वागी’, राक्सिराङमा सार्बजनिक बिदा
भदौं, हेटौडा (राक्सिराङ) – चेपाङहरूको प्रमुख चाड छोनाम ‘न्वागी’ हो । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन । केही वर्षयता नेपाल चेपाङ संघको पहलमा भदौ २२ लाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । छोनामको दिन घैयाँ धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ ।
चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाक्री (पाण्दे) हरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् । यस दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने गर्दछन् । ‘वारनामा कोही चेपाङ काममा निस्कँदैनन्,’ पूर्वसांसद गोविन्दराम चेपाङले भने ‘घरमै बसेर रमाइलो गरिन्छ ।’
छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । चेपाङहरुले न्वागी पर्वलाई पान्देई घ्यासा पनि भन्छन् । भेला भएर उनीहरुले ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गर्छन ।
अहिले उब्जिएको मकै तथा अन्य खाद्यान्न बालीले वर्षभरी खान पुगोस् भनेर कामना गर्ने र आपसमा खुसियाली साटासाट गरेर यो पर्व मनाइने पूर्वसांसद चेपाङले बताए ।
यसै, सास्कृतिक छोनाम ‘न्वागी’ पर्वको अवसरमा पश्चिम मकवानपुरको राक्सिराङ–५ चैनपुरमा आज विशेष साँस्कृतिक तथा भेटघाट कार्यक्रम हुदै छ । नेपाल चेपाङ संघ बागमति प्रदेश कमिटिसंगको समन्वयमा राक्सिराङ गाँउ कमिटिको आयोजनामा आज चैनपुरमा विशेष कार्यक्रमको आयोजना गरिएको राक्सिराङ गाँउ कमिटिका अध्यक्ष सोमलाल चेपाङले बताए ।
सास्कृतिक कार्यक्रममा चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ, प्रशान्त चेपाङ र सुनिमाया चेपाङ लगाएतकाकोे साँस्कृतिक प्रस्तुति रहेको अध्यक्ष चेपाङले बताए । सास्कृतिक छोनम पर्व ‘न्वागि’को अवसरका राक्सिराङ गाउँपालिकाले आज सार्बजनिक बिदा समेत दिएको छ । गाउपालिकाले प्रत्येक वर्ष सार्वजनिक बिदा दिदै आएको छ ।






