घान्द्रुक दुर्घटना : दशैँमा घुम्न गएका ८ जनाको मृत्यु, सबैको सनाखत

ताम्सालिङ खबर
२५ आश्विन २०७८, सोमबार १९:०४

असोज, पोखरा – कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक रहेको प्रहरीले जनाएको छ ।

दसैँ बिदामा घुम्न काठमाडौँ महानगरपालिका– ३ गोङ्गबुबाट आएका विद्यार्थीलाई लिएर नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका-१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा २० वर्षीया देविका घिसिङको सकुशल उद्धार गरिएको र आठ जना मृतकको सनाखत भएको प्रदेश प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु हुने जिप चालक अन्नपूर्ण गाउँपालिका–५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् ।

यस्तै काठमाडौँ गोङ्गबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका मृतकहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । घुम्ती कटाउन लाग्दा जिप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी विकले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*