पार्टीको इमान्दार कार्यकर्ता हुँ, मुख्यमन्त्रीलाई सघाउँछु – मन्त्री विश्वकर्मा

कार्तिक, पोखरा – गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी नपाएसम्म मुख्यमन्त्रीलाई सघाउने बताएका छन् ।
विनाविभागीय मन्त्री नियुक्त भएको झण्डै दुई सातापछि आयोजित पत्रकार सम्मेलनमा उनले आफू पार्टीको इमान्दार कार्यकर्ता भएकोले मुख्यमन्त्रीलाई सघाउनु नै आफ्नो दायित्व रहेको प्रष्ट्याए ।
उनले भने, ‘पहिलो चरणमा नै मन्त्री बन्छु भन्ने लागेको थियो । कुराले मिलेन । अहिले आएर पार्टीले मेरो आवश्यकता महसुस गरेपछि मन्त्री बन्ने मौका मिल्यो ।’
विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असोज २५ गते मन्त्री नियुक्त गरेका थिए । उनलाई दसैंको मुखमा आएर मुख्यमन्त्री पोखरेलले विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए । डोबाटे काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् ।
डोबाटे मन्त्री बन्ने चर्चाबीच नियुक्ति नपाएपछि सञ्चारमाध्यमले संवैधानिक व्यवस्थादेखि समानुपातिक समावेशी सिद्धान्त विपरीत भएको भन्दै आवाज उठाएका थिए । ‘म पार्टीको इमान्दार कार्यकर्ता हो, त्यति बेला मेरो नाम हटाउँदा पनि कुनै गुनासो गरेको थिइन’ उनले भने, ‘सवैले मेरो विषयमा आवज उठेपछि पार्टीले अनुभूति गरेर नै अहिले मन्त्रीमा नियुक्ति गरियो ।’